एजेन्सी । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा प्रतियोगिताको सर्वाधिक सफल टोली इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै सेनेगलले पहिलोपटक अफ्रिका कपको उपाधि जितेको हो ।
क्यामरुनस्थित ओम्निस्पोर्ट् पल बियामा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा सेनेगल भाग्यमानी रह्यो । पेनाल्टी सुटआउटमा सेनेगलको लागि कालीडोउ काउबेली, अब्डोउ डिएल्लो, अहमाडोउ बाम्बा डिएङ र साडियो मानेले गोल गर्दा बोउना सार चुकेका थिए ।
इजिप्टको लागि जिजो र मार्वान हाम्डीले गोल गर्दा मोहम्मद अब्डेलमोनेम र महन्द लाशेन गोल गर्न असफल रहे । यसअघि पहिलो हाफको सातौं मिनेटमा माने पेनाल्टीमा चुक्दा सेनेगलले खेलमा अग्रता लिने मौका गुमाएको थियो ।
खेलमा दुवै टोलीले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न नसक्दा विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो । यसअघि सेनेगल सन् २०१९ मा अल्जेरियासँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।