एजेन्सी, २४ माघ। फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले युक्रेनसँगको युद्ध रोक्ने सहमतिमा पुग्न सम्भव भएकोे बताएका छन् । उनले आफ्नो सुरक्षा चासोबारे आवाज उठाउने रुसको वैधानिक अधिकार रहेको बताएका छन् ।
सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गर्नुअघि म्याक्रोँले रुसलाई शान्त पार्न र युरोपेली मुलुकहरुको रक्षा गर्नका लागि ‘नयाँ सन्तुलन’ निर्माणका लागि आह्वान गरेका छन् । उनले युक्रेनको सार्वभौमसत्ता छलफलको विषय नभएको दोहोर्याएका छन् । रुसले युक्रेनको सीमामा एक लाखको संख्यामा आफ्नो फौज तैनाथ गरे पनि युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएकोे बताउँदै आएको छ ।
वास्तवमा मस्कोले उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) प्रतिरक्षा गठबन्धनमा युक्रेनलाई सदस्यता प्रदान नगर्न र पूर्वी युरोपमा नेटोको सेनाको उपस्थिति घटनाउन माग अघि सार्दै आएको छ । तर, पश्चिमी जगतले भने रसियाका यि मागलाई पन्छाउँदै पारमाणविक हातहतियार कटौती जस्ता अन्य विषयमा वार्ता गर्ने विचार व्यक्त गरेको छ ।
म्याक्रोँले दि जर्नल डु दिमाँछे अखबारलाई बताएका छन्, “रुसको उद्धेश्य युक्रेनमाथि हमला गर्नु नभई नेटो र युरोपेली संघ (ईयू) समक्ष विमति राख्नु हो, मलाई आशा छ । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता सैनिक द्वन्द्व रोक्न काफी हुनेछ । साथै पुटिनले अन्य बृहत विषयहरुमा खुलेर छलफल गर्छन् भन्ने विश्वास पनि छ ।”