काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए ।
प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी फुटाउने, मेरा मान्छे चोर्ने र अनेकन डिजाइनर गर्ने’ भनेका थिए । ओलीले त्यसपछि ‘डिजाइनरहरु कस्ता हुन्छन् देखाइदिने’ चेतावनी दिएका थिए ।
ओलीले माधव नेपालसहित १४ सांसदको विषय उठाएका थिए । उनले सभामुख अग्निप्रसाद सापकोटाको विषय उठाएर कडा कदम चाल्ने चेतावनी दिए । प्रचण्डले पनि कडा स्वरमा ‘अदालतमा विचाराधीन विषय उठाएर सदन अवरोध गरेको र सभामुखलाई तारोमा पारेको’ भनेका थिए ।
ओलीले एमसीसी टेबुल गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने प्रस्ताव देउवालाई राखेका थिए । देउवाले पनि ओली ‘प्रधानमन्त्री हुँदा एमसीसी किन अगाडि नबढाएको ?’ ‘सभामुखलाई महाभियोग लगाउने कदम किन नचालेको ?’ भनी प्रश्न गरेका थिए ।
बालुवाटारमा २३ माघमा २ घन्टा चलेको छलफल पछि तीन नेताहरुले आ आफ्नो बाटो स्पष्ट गरिसकेको बुझिएको छ । त्यो अब विस्तारै राजनीतिक परिस्थितिका रुपमा देखापर्दै गएको छ ।