Logo

आर्यघाटमा शव लैजादाँ बागेश्वरीको बाटो नभई गौशाला बनकालिको बाटो हुँदै लैजाने व्यवस्था गर्न सुझाव



काठमाडौं, २५ माघ । पशुपति आर्यघाटमा शव लैजादाँ बागेश्वरीको बाटो नभई गौशाला बनकालिको बाटो हुँदै लैजाने व्यवस्था गर्न सुझाव दिइएको छ । पशुपतिनाथ क्षेत्रको पछिल्लो विषयमा जानकारी गराउँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई स्वतन्त्र नागरिक समाजको तर्फबाट विश्व भक्त बाबाले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भक्तजनहरूलाई पशुपतिनाथको पूर्व ढोकाबाट छिरेर पश्चिम ढोकाबाट निस्कनु पर्नेमा त्यसको विपरित कार्य भइरहेको जानकारी दिँदै यस्ता कार्यलाई रोक्न मन्त्री आलेलाई समाजले ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा पशुपतिनाथको जलरी लगाउँदा ११ किलो सुन हराएको विषय उठान गर्दै सुनको अवस्थाको बारेमा अनुसन्धान गर्न माग गरिएको छ । यसैगरी, विश्वरुपा मन्दिर २०७२ सालको महा–भूकम्पले भत्किएको ७औं वर्ष पूरा हुँदा समेत अहिले सम्म पुनः निर्माणको लागि पशुपति विकास कोषको ध्यान नगएको पत्रमा उल्लेख गरिएको छ ।

नागरिक समाजले भक्तजनहरूलाई पशुपति क्षेत्र विकास कोषले प्रसादको उचित व्यवस्था गर्न पनि मन्त्री आलेलाई ध्यानाकर्षण गराएको छ । पशुपतिनाथको आर्थिक आय/व्ययको विवरण नेपाली जनता माझ अहिले सम्म पनि सार्वजनिक नभएको भन्दै सार्वजनिक गर्न पनि माग गरिएको छ । त्यस्तै, समाजले गौदान र पूर्णपात्रो गर्नको लागि श्रद्धालुहरूले शास्ती भोगि रहेको उल्लेख गर्दै ब्राम्हणहरूलाई व्यवस्थित गरी राख्नपर्ने पनि सुझाव दिएका छन् । उनीहरुले माग्ने लगाएत बिभिन्न साधुहरूलाई उचित स्थानमा राख्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

पशुपतिनाथ मन्दिरको परिसर भित्र पशुपति क्षेत्र विकास कोषद्वारा देव कार्यमा बजाइने बाजाहरूको उचित संरक्षण नगरि बे–वास्ता गरेको आरोप लगाउँदै नेपालीको धर्म, संस्कृति र मौलिकतालाई जगेर्ना नगर्दा बाजाहरू लोप हुने अवस्थामा पुगेको पनि पत्रमा उल्लेख गरिएको छ । यसको साथै डामेर छोडेका साँडेहरूलाई संरक्षण गर्न बनाइएको गौशालालाई धर्मशालामा परिणत गरिएको भन्दै धर्मशालालाई गौशालामा नै परिणत गर्न माग गएिको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot