काठमाडौँ, २५ माघ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन आज (मङ्गलबार) शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै पालिकामा पुर्याउने बताएका हुन् ।
‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ’, उनले भने, ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’ मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताए । ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, उनले भने, ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’
मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चार देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताए । पढ्दै–कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै मन्त्री पाैडेलले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताए ।
२०७६ असोज ७ गते आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड रुपैयाँ छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्शन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा चार तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसा दशर्माले जानकारी दिए ।-File Photo