दीपेश केसी: ‘मलाई यो फोन के काम ?’ सन् २०१४ मा भारत भ्रमणमा गएका तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले स्वकीय सचिव लक्ष्मण ढकाललाई भने । ढकालको जवाफ थियो, ‘यो पुरानो मोबाइल फोन चलाएर हुन्छ ?’
हातमा टच मोबाइल फोन लिएर कोइरालाले भने, ‘यो फोन कसरी चलाउने ? मलाई के काम ?’ सुशील कोइराला सम्पत्तिको रुपमा नयाँ मोबाइल फोन स्वीकार्न तयार भएनन् । उनलाई पुरानै सामान्य मोबाइल फोनप्रति माया थियो । अन्तमा उनले पुरानो मोबाइल फोन छाडेनन् । टच मोबाइल स्वकीय सचिव लक्ष्मण ढकालमार्फत् चलाउन थाले ।
पंक्तिकार त्यतिबेला भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दैथियो । काँग्रेस सभापति सुशील कोइराला बसेको होटलमा मोबाइल फोन सम्पत्तिको रुपमा जोडेको दृश्य देख्न पायो ।
सुशील कोइरालाको सादगीपनबारे सुनेको थिएँ आँखैले देखेँ । उनी आफ्ना लागि कहिले सम्पत्ति जोडेर बसेनन् । पहिरन पनि सामान्य । विदेशी मित्रहरुसँग कुरा गर्दा पनि निकै नरम तरिकाले प्रस्तुत हुने स्वभावका ।
प्रधानमन्त्री भएपछि बेला बेलामा कोइरालासँग भेट हुँदा कहिले विशिष्ट पदमा पुगे जसरी प्रस्तुत नहुने स्वभाव देखिन्थ्यो ।
सन् २०१६ मा महाराजगञ्जमा पत्रकार भेटघाटमा जाने अवसर पाइयो । त्यतिबेला नाकाबन्दीले इन्धनको अभाव थियो । चीसो बढेकाले निवासमा ग्याँसको जोहो गर्न उनका सहयोगीहरु जुटिरहेको देखिन्थे । सकेसम्म ग्याँस धेरै नबाल्न भनिरहेका थिए ।
पत्रकार भेटघाट सकिएपछि जाने बेलामा मैंले स्वास्थ्य अवस्थाबारे सोधें । उनले चीसोबाट बच्नुपर्छ भने । यो चीसो खतरनाक हुन्छ बच्नुपर्छ है । मेरो भाई डाक्टर अरुण कोइराला निमोनियाले गए ।
पंक्तिकारले अर्को विषय निकाल्दै भन्यो, तपाईं कम बोल्नुहुन्छ काम गर्ने नेताको गुण यही हो । कोइरालाले कविरको कविता संस्कृतमा वाचन गरेपछि नेपालीमा उल्था गरे । उनले भने, यो जिब्रो चल्दिन्छ अनि लुक्छ, परिणाम व्यक्तिले भोग्नुपर्छ ।
महाराजगञ्जमा सन् २०१६ को जनवरी महिनाको अन्तिमतिरको पत्रकार भेटघाटमा पंक्तिकारले सुशील कोइरालालाई भेटेर कुराकानी गर्ने अवसर पायो । केही दिनमै दिवंगत भएको खबर सुनेँ । एक सादगी नेता सम्पत्तिका नाममा दुईवटा मोबाइल छाडेर गए भन्ने लाग्यो । उनले भावी पीढीलाई ठूलो सन्देश छाडेर गए । जीवन सामान्य तरिकाले जिउन सकिन्छ र सम्मानित पदमा पुग्न सकिन्छ । उनले २०७२ सालको भूकम्पका बखत प्रधानमन्त्रीका रुपमा देशलाई सम्हाल्न सके । सोही वर्ष उनी प्रधानमन्त्री बनेकै बखत देशले संविधानसभामार्फत् संविधान पायो । एक जुगमा एकपटक जन्मने सादगी नेता कोइरालाले देशलाई संविधान दिएर गए ।