Logo

अर्जुन लामा हत्यासम्बन्धी मुद्दा उचालियो, सभामुख सापकोटाको पद जाला ?



काठमाडौं, २७ माघ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालमा भएको एउटा हत्यासम्बन्धी मुद्दा चुनौती बनेर तेर्सिएको छ । यो मुद्दा हो २०६२ सालमा काभ्रेमा अर्जुन लामाको अपहरणपछि भएको हत्यासम्बन्धी हो । जसमा सापकोटालाई अभियुक्त बनाई मुद्दा दायर भई अदालतमा विचाराधीन छ ।

अर्जुन लामाकी पत्नी पूर्णिमायासहित मानवअधिकारवादी र नाम चलेको नागरिक अगुवाहरुले अपिल नै जारी गरी हत्या अभियोग लागेका सापकोटालाई सभामुखबाट हटाउन माग गरेका छन् । यो माग यस्तो बेलामा आएको छ जतिबेला एमसीसी सदनमा टेबुल गर्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रयासरत छन् । सभामुख सापकोटा टेबुल गर्न तयार छैनन् ।

सभामुख सापकोटाविरुद्वद्ध अर्जुन लामा हत्या प्रकरणको विषय उठाई अधिकारवादीहरु बोलेपछि उनको दल नेकपा माओवादी केन्द्रले मुख फोरेको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्र भनेका छन् । उनले बुधबार सामाजिक सञ्जालमा भनेका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रको द्वन्द्वकालिन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रको गम्भीर अभिव्यक्ति हो ।

मल्ले परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यबाट प्रेरित गतिविधि भइरहेको समेत उल्लेख गरेका छन् ।

२ वैशाख २०६२ मा काभ्रेमा अर्जुन लामालाई अपहरण गरी असारमा हत्या भएको थियो । त्यसमा अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरुविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले २०६४ मा परमादेशमार्फत् निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धन अभियोजन गर्नु भनी प्रहरीलाई निर्देशन गरेको थियो ।

यो मुद्दा अदालतमा विचाराधीन छ । मुद्दामा अदालतले सापकोटालाई दोषी ठहर गरे उनको पद स्वतः जान्छ । मुद्दा जितेमा उनको पद जोगिन्छ ।
एमसीसीको विषय पेचिलो बन्दै जाँदा सभामुख सापकोटामाथि प्रहार भइरहेको छ । यो मुद्दा पनि अस्त्र बन्न सक्छ । विगतमा एमसीसी टेबुल गर्न नमान्दा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि प्रहार भएको थियो । रोशनी शाही प्रकरण आयो जसले उनी राजीनामा दिन वाध्य भए ।



प्रतिक्रिया दिनुहोस्