Logo

तीव्र गतिमा गुड्नेलाई ठाउँको ठाउँ कारबाही



बाँके, माघ २७ । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री सवार सरकारी गाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटिएका सुरक्षाकर्मीले २० मिनेट रोके । हतारमा रहेकी उपाध्यक्ष खत्रीले गाडी छोड्न आग्रह गरिन तर, सुरक्षाकर्मीले छोडेनन् ।

उपाध्यक्ष सवार गाडीलाई निकुञ्ज क्षेत्रभित्र तीव्र गतिमा चलाएका कारण कारबाहीस्वरूप रोकिएको थियो । गत १४ गते १ बजेको घटना थियो, यो । उपाध्यक्ष खत्रीले निकुञ्जका प्रमुख, निकुञ्जमा खटिएको नेपाली सेनाका अधिकारीलाई फोन गरिन । कतैबाट सुनुवाइ भएन । सबैका लागि बनाएको नियम कसैको आदेशमा तोडिनेवाला थिएन । तोकिएको समयभन्दा अघि पुगेकाले उपाध्यक्ष खत्री सवार गाडीलाई रोकिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्रयाकिङ एन्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीव्र गतिमा गुड्ने सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन्। बाँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको छ ।

निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ । पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ । शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ । निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ ।

राजमार्ग भएको र टाढा जानुपर्ने भएकाले प्रति घण्टा ६० किलोमिटरको गतिसम्मलाई व्यावहारिक रूपमा हेर्ने गरिएको छ । प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही हुने गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot