Logo

जिल्ला निर्वाचन कार्यालय बैतडीद्वारा मतदाता नामावली सङ्कलन स्थगित



बैतडी, २७ माघ: जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिए । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम स्थगन गरिएको हो । मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उनले भने, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, माघ २९ सम्म रुजु कार्य आयोगमा पठाउँछौँ, त्यसपछि मतदाता यकिन सङ्ख्या आउँछ ।”

निर्वाचनको मिति घोषणा हुनुपूर्व जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा भइरहेको थियो । हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै त्यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने कार्यालयले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot