काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मधेशी जनताको अधिकारको लागि लड्ने पार्टी नै माओवादी केन्द्र भएको बताएका छन् । आज (बिहीबार) रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु), वडा अध्यक्ष श्रवणकुमार यादव (नेपाली कांग्रेस) लगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले शान्ति प्रक्रियामा माओवादी आएपछि मधेशमा माओवादीप्रति ठूलो जनलहर आएको थियो भन्नेपनि स्मरण गराए । मधेश माओवादीमय भयो भने देश नै माओवादीमय हुन्छ भन्ने डरले आफ्नो पार्टीभित्र ठूलो भ्रम छर्ने काम गरिएको पनि उनले स्मरण गराए । मधेशको अधिकारको लागि विदेश डिजाईनमा केही दल बनेपनि ती दलहरु अन्तिममा आएर गणतन्त्र र संघीयताविरोधी तत्वसँग मिल्न गएको भन्दै केपी शर्मा ओलीसँगको उनीहरुको सहकार्य सम्झाए ।
उनले भने,‘मधेश प्रदेश र तराई अब माओवादी केन्द्रमय हुनेछ । म भर्खरै सर्लाही र रौतहट गएँ, सर्लाहीमा एकैचोटी सयौंको संख्यामा शिक्षकहरु, बुद्धिजिवीहरु माओवादीमा प्रवेश गरेका छन् । आजको यो पार्टी प्रवेश कार्यक्रम माओवादीलाई समाप्त पार्न खोज्नेहरुको पराजय र हाम्रो विजयको सुरुवात हो । तपाईँहरुलाई हामी भूमिका र क्षमताअनुसार जिम्मेवारी दिईनेछ । खुल्ला दिलले भूमिका दिईनेछ ।’
https://www.facebook.com/prachanda.nepal/videos/3295621224002889