Logo

एमालेभित्र एमसीसीविरोधी १३ सांसद तयार गर्ने सक्रियता



काठमाडौं, २७ माघ । नेकपा एमालेभित्र एमसीसी विरोधी सांसदहरुले शक्ति सञ्चय गर्न थालेका छन् । सत्ता गठबन्धन टुट्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन सकिने परिस्थिति निर्माण भएमा एमसीसी पारित गर्न तयार हुने गरी एमाले अगाडि बढिरहँदा यस्तो गतिविधिले गति लिएको हो ।

एमालेले एमसीसी पारित गर्न सभामुखलाई हटाउनुपर्ने शर्त प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेको छ । देउवा विकल्पसहित एमालेसँग भद्र सहमति गरेर बढिरहेका छन् । एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले टेबुल नगर्ने अवस्था बनिसकेको छ । उनलाई हटाउने प्रस्ताव तयार अवस्थामा राखिएको एमाले नेता महेश बस्नेतले खुलाइसकेकाछन् ।

एमसीसी पारित गर्नुपूर्व सभामुख सापकोटालाई हटाउनुपर्ने परिस्थिति विकास भइरहँदा सदनमा उनीविरुद्ध दुई तिहाई बनाउन भित्री तयारी पनि चलिरहेको छ । तर, एमसीसी विरोधी नेतामध्येका प्रचण्डले अन्य दलमा सक्रियता बढाइसकेका छन् ।

विशेषगरी एमाले र जसपाभित्र एमसीसी विरोधीको खोजी चलिरहेको छ । एमालेमा डा. भीम रावल एमसीसी विरोधी छन् । घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, रामवीर मानन्धर, तुलसा थापा पनि एमसीसीको पक्षमा छैनन् । ओलीविरोधी सांसदहरुको पुरानो समूहमध्ये अधिकांश एमसीसी विरोधी देखिएका छन् । उनीहरु शक्ति सञ्चयमा लागेका छन् ।

एमालेका १३ सांसद एमसीसीविरुद्ध देखिएमा सभामुख हटाउने प्रस्ताव पनि असफल हुने सम्भावना रहन्छ । त्यसैले एमालेभित्र भीम रावल समुह कम्तिमा १३ सांसद तयारी अवस्थामा राख्न लागेको । उनीहरु निरन्तर शक्ति सञ्चयमा लागेका छन् ।

संसदको गणित
सभामुख हटाउने प्रस्ताव ल्याउन एकजना सांसदले एक चौथाई सांसदको समर्थनसहित प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने प्रावधान छ । तर, पारित गर्न दुई तिहाई चाहिन्छ ।

संसदमा हाल २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ लाई मताधिकार छ । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ । नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।

एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको मात्र समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ । जसपाको अधिकांश सांसद एमसीसीको पक्षमा उभिने अवस्था बनेकाले सभामुखविरुद्ध हटाउने प्रस्ताव आएमा जसपाको बहुमत सांसद पक्षमा जानसक्छन् । तर, एमालेबाट डा भीम रावललगायतका एमसीसी विरोधी नेताहरुले विद्रोह गर्न सक्छन् । रावलले १३ सांसद एमसीसीविरुद्ध जुटाउन सके माहोल नै फरक हुनसक्छ । यसले एमसीसी नै विफल गर्ने गरी सभामुखविरुद्ध हटाउने प्रस्ताव असफल हुन्छ ।

संसदमा बहाल सांसद संख्या
नेकपा एमाले ९७
नेपाली काँग्रेस ६३ (२ निलम्बित)
नेकपा माओवादी केन्द्र ४८ (१ सभामुख)
नेकपा एस २३
जसपा १९ (१ निलम्बित)
लोसपा १३
राजमो १
नेमकिपा १
राप्रपा १
स्वतन्त्र १

कुल सांसद २६८ मा ३ निलम्बित भएकाले २६५ को गणना

दुई तिहाई पुग्न १७७



प्रतिक्रिया दिनुहोस्

Screenshot