Logo

सौर्य आँधीले अन्तरिक्षमै नष्ट हुन थाले ‘स्पेस एक्स’का स्याटेलाइट



एजेन्सी, २७ माघ। सौर्य आँधीका कारण इलोन मस्कको कम्पनी ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट नस्ट भएका छन् । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार सौर्य आँधीको कारण गत साता प्रक्षेपण गरिएका ४९ मध्ये ४० साना स्याटेलाइट पुनः पृथ्वीको वायुमण्डल प्रवेश गरेर नष्ट भएको वा नष्ट हुने संघारमा रहेका छन्।

स्पेसएक्सले मंगलबार राति दिएको जानकारीअनुसार गत शुक्रबार आएको भू–चुम्बकीय आँधीको कारण कारण वायुमण्डलको घनत्व बढेको थियो, जसले स्पेसएक्सको स्टारलिंक स्याटेलाइटलाई आफूतर्फ तानेको थियो।

पृथ्वीमा रहेका कन्ट्रोलरले त्यसलाई बचाउन प्रयास गरेका थिए। यद्यपि उक्त प्रयास असफल भएको थियो। स्पेसएक्सले विश्वका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारको लागि करिब २ हजार स्याटेलाइट प्रक्षेपण गर्ने क्रममा छ।

अहिले नष्ट भएका स्याटेलाइट अस्थायी पोजिसनमा रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अहिले नष्ट भएका स्याटेलाइटबाट अन्तरिक्षमा वा जमिनमा कुनै किसिमको जोखिम भने नरहेको जनाएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्