Logo

फिफा वरीयतामा नेपालको सुधार



काठमाडौँ, २७ माघ: विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयताक्रममा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले आज (बिहीबार) जारी गरेको नयाँ वरीयताक्रमअनुसार नेपाल दुई स्थान सुधार गरेको हो ।

यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो । दुई साताअघि नेपालमा भएको मरिससविरुद्धको मैत्रीपूर्ण दुवै खेलमा जित निकालेपछि नेपालको वरीयतामा सुधार भएको हो । नेपालले ११ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।

यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेलेपछि त्यसमा जित निकाल्न सकेको थिएन । फिफाको नयाँ वरीयताको स्क्रिनसट लिएर नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् । उनले नेपाली फुटबल समर्थक र आफ्ना शुभचिन्तकमाझ खुसी साटेका छन् ।

वरीयतामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो हुँदा अर्जेन्टिना एक स्थान सुधार गदै चौथो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेर इंग्ल्याण्ड भने पाचौं स्थानमा छ । इटली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्याण्ड्स क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्