काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन अगाडि बढेका छन् । उनले पार्टीबाट सबैको साथ पाइसकेका छन् । आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेर अनुमोदन गराएर जनतामा जाने निर्णय समेत गराए ।
एमसीसीबारे काँग्रेसभित्र एकमत भएको छ । अब सदनमा टेबुल गराउने रणनीतिका साथ बढ्ने बुझिएको छ ।
देउवालाई आज माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेटे । उनीहरुले चुनावपछि एमसीसी टुंगो लगाउने गरी प्रस्ताव गरे । एमसीसी पारित गरेर जाँदा चुनावमा धक्का लाग्ने प्रचण्डको भनाईलाई देउवाले भ्रमहरु चिरिने जवाफ दिएका थिए ।
देउवा कुनैपनि हालतमा एमसीसी पारित गर्न बढिसकेका छन् । यसको सन्देश उनले कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएर दिइसकेका छन् ।
एमसीसी १६ फागुन अगावै पारित गर्ने देउवाको तयारी छ । यसका लागि उनले कुनैपनि विकल्पमा जाने तयारी समेत गरेको बुझिएको छ ।
गठबन्धन तोडिएपनि एमसीसी पारित गर्नेमा काँग्रेसभित्र रणनीति बनिसकेको बुझिएको छ । चुनावमा गठबन्धन गर्ने प्रचण्ड र माधव नेपालको सर्त समेत आएको बुझिएको छ । तर, काँग्रेसभित्र गठबन्धन नगर्ने दबाब बढिरहेको छ । एमसीसी पारित गर्न गठबन्धन तयार भएमा चुनावमा मिलेर जाने सहमति पनि बन्न सक्ने बुझिएको छ ।