Logo

मध्य–पहाडी लोकमार्गः दोस्रो त्रैमासिक प्रगति झन् निराशजनक



काठमाडौं, माघ २८ । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ ।

सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर झन् १९ दशमलव ३६ प्रतिशत मात्र रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू दोस्रो त्रैमासिक अवधिमा ६० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने र ६ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो । जसमा २० किलोमिटर मात्र कालोपत्रे भएको छ भने एउटा मात्र पुल निर्माण सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार सरकारले चालू वर्षमा २४० किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ भने २४ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।

यता, चालू आर्थिक वर्षको वार्षिक लक्ष्य २४० किमी सडक कालोपत्रे गर्ने रहे पनि हालसम्म ३३ दशमलव ५ किमी मात्र कालोपत्रे भएको छ । २४ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म एउटा मात्र सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

भौतिक प्रगति हुन नसक्दा पुँजीगत खर्च समेत बढ्न नसकेको पाइएको छ । दोस्रो त्रैमासिक अवधिका लागि लोकमार्ग निर्माणमा २ अर्ब ७१ करोड ७७ लाख विनियोजन गरिएको थियो । जसमा १ अर्ब ४२ करोड ३२ लाख अर्थात् ५२ प्रतिशत मात्र खर्च भएको छ ।

वार्षिक तुुलनामा ८ अर्ब ३ करोड ४५ लाख विनियोजन गरिएको छ । जसमा हालसम्म १ अर्ब ९२ करोड ८१ लाख मात्र खर्च भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्