Logo

कानुनी छिद्रले म-यो गैँडा



भरतपुर, माघ २८। राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।

पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थियो । मरेको सम्बन्धमा छानबिन गर्न गठित समितिले सो निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको छ ।

उक्त घटनाको छानबिन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो ।

मन्त्रालयमा बुझाएको अध्ययन प्रतिवेदनमा वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोरमा समेत वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी राजमार्ग तथा नाली विस्तार गरिएको पाइएको उल्लेख छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले प्रतिवेदनबारे जानकारी दिँदै वन्यजन्तु ओहोरदोहोर गर्ने नाकामा भएको विकास निर्माणमा लापरबाही गर्नेलाई कानुनी कारबाही गर्नसमेत सिफारिस भएको जानकारी दिए।

वन्यजन्तु ओहोरदोहोर गर्ने कोरिडोरमा विकास निर्माणको काम हुँदा सङ्घीय सरकारका सरोकार मन्त्रालयहरूबीच समन्वय हुनुपर्नेमा सो समेत नभएको, नाली निर्माणको काम पूरा भए पनि खाल्टो नपुरिएको, वन्यजन्तु ओहोरदोहोर गर्ने नाकामा विकास निर्माणको काम भइरहँदा पनि चितवन राष्ट्रिय निकुञ्ज र यसका कर्मचारीले अनुगमन नगरेको निष्कर्ष कार्यदलको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot