काठमाडौँ, २८ माघ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)लाई समर्थन गर्न नसकिने बताएका छन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको नेता नेपालले बताएका हुन् ।
सत्ता गठबन्धनका नेता नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका छन् । कार्यक्रममा उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर, जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।’ सम्झौता मिति पर सार्दा उत्तम हुने उनको भनाई छ ।