Logo

एमसीसीबारे निर्णय गर्न ओलीलाई प्रचण्डको फोनमार्फत् आग्रह



काठमाडौँ, २८ माघ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय गर्न फोन गरेका छन् । फोनमा एमसीसी सम्झौताबारे निर्णय गर्न ओलीलाई प्रचण्डले आग्रह गरेका हुन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर एमसीसीबारे छिट्टै निर्णय गर्न आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्ड र ओलीबीच फोन संवाद भएको हो ।

अध्यक्ष प्रचण्डले ओलीलाई हिजो (बिहीबार) साँझ फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीबार तपाईंले निर्णय नगरी भएन ।’

तर, ओलीले उल्टै पहिले प्रचण्डलाई निर्णय गर्न भनेर जवाफ फर्काएका छन् । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ’ ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन् ।

‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । एमालेले त निर्णय गरिहाल्छ ।’ माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने पक्षमा मत बलियो देखिएको छ । एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा लिएको छ । तर, नेपाली कांग्रेस भने एमसीसी पास गर्ने निष्कर्षमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्