Logo

एमसीसीमा ओली र प्रचण्ड दुवैले अमेरिकालाई छक्याएपछि…



काठमाडौं, २८ माघ । एमसीसी सन् २०१७ मा सम्झौता हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर, यसलाई सदनबाट पारित गर्नुपर्ने प्रावधानका कारण अलमल भयो ।

५० करोड डलरको विकास आयोजनालाई सैन्य रणनीतिसँग पनि जोडियो । देशमा कम्युनिस्टको एकमना सरकार आयो । केपी शर्मा ओली प्रधानमन्त्री बने । सभामुख थिए कृष्णबहादुर महरा ।

ओलीले एमसीसी पारित गर्ने अभिव्यक्ति दिइरहे । तर, सरकारका तर्फबाट सदनमा अगाडि बढाउन चाहेनन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले टुबल गर्न नमानेको सार्वजनिक अभिव्यक्ति नै दिए । महरा रोशनी शाही प्रकरणमा पदमुक्त भए । सभामुख पद खाली नै थियो । ओलीले चाहेको भए सरकारका तर्फबाट एमसीसी अगाडि बढाउन सक्थे । तर, उनले चार्तुयता देखाए । एमसीसी बढाएनन् ।

ओलीले एमसीसी पारित गर्नुपर्नेमा जोड दिइरहे । तर, कार्यान्वयनमा लगेनन् । यसमा उनको रणनीतिक चार्तुयता देखियो । नेकपा फुट्यो । ओली सरकार पनि ढल्यो ।

सत्ताबाट हटेपछि ओलीले बोली फेरे । एमसीसी पारित गर्ने पक्षका उनी यु टर्न भए । एमसीसी पारित गर्ने या नगर्नेलाई रणनीतिक विषय बनाए । उनी एमसीसीलाई सत्ता गठबन्धन र सभामुख अग्नि सापकोटाको पदसँग सौदावाजी गर्न बढ्न थाले । सत्ता गठबन्धनले लिने निर्णयपछि मात्र आफूले निर्णय लिने भन्न थाले । उनको विगतको निर्णयमा बदलाव आइसकेको थियो ।

प्रचण्डले पनि अमेरिकालाई छक्याए । २९ सेप्टेम्बर २०११ मा देउवासँग मिलेर एमसीसीलाई पत्र लेखे । पत्रमा पाँच महिना समय दिन भनिएको थियो । माओवादीको आठौं महाधिवेशनमा अमेरिकाको आलोचना गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख गरे । एमसीसी पारित नगर्ने विषय ४५ बुँदे महाधिवेशनले पारित गरेको प्रतिवेदनको पाचौं नम्बरमा उल्लेख गरे । यसबाट अमेरिका झस्कियो ।

देउवासँग मिलेर प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भयो । उनले गठबन्धन जोगाउन रणनीतिक रुपमा पत्र लेखेको भन्दै माओवादी केन्द्रका तर्फबाट विज्ञप्ति जारी गर्न लगाए । एमसीसी पारित गर्ने पक्षमा नभएको स्पष्ट सन्देश दिए ।

एमसीसीमा अमेरिकालाई छक्याइसकेका प्रचण्डले देउवालाई अलमलाउने प्रयास जारी राखे । उनले चुनावपछि मात्र एमसीसीबारे निर्णय लिने प्रस्ताव राखे । एमसीसी संशोधनको विषय राखे । तर, अमेरिका एमसीसी संशोधन गर्न र १६ फागुनपछि पारित गर्ने समयसीमाका लागि तयार भएन । देउवाले कुनै हालतमा १६ फागुन अगावै पारित गर्न कदम चाल्ने स्पष्ट भने ।

देउवाले गठबन्धन तोड्नसक्ने र सभामुख सापकोटाविरुद्ध कदम चाल्न ओलीसँग मिल्नसक्ने देखेर प्रचण्डले अर्को रणनीति अगाडि सारेका छन् । उनले ओलीसँग मिल्ने प्रयास थालेका छन् । यसका लागि प्रत्यक्ष र विश्वासपात्रहरुमार्फत् कुराकानी बढाएका छन् ।

एमसीसीमा अमेरिकालाई यसअघि ओलीले छक्याएको र पछिल्लो समय प्रचण्डले छक्याएकोले उनीहरुबीच मिलनबिन्दुको सम्भावना पनि छ । यद्यपि, प्रचण्डले एमसीसी चुनावपछि धकेल्न वा अहिले नै निर्णय लिने ओलीलाई गरेको आग्रहमा पहिले निर्णय नलिने जवाफ आएको छ ।

एमसीसीबारे ओली स्पष्ट छैनन् । प्रचण्ड पारित नगर्ने पक्षमा छन् । विगतमा ओलीको कदम बोलीमा एमसीसी पारित गर्ने व्यवहारमा रोक्ने देखिन्थ्यो । यसले एमसीसी पारित नगर्ने रणनीतिक चार्तुयतामा ओली र प्रचण्ड दुवै अगाडि बढेको घटनाक्रमले देखाउँदै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्