Logo

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह



एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताएका हुन् ।

एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराए । “हामीले सोचे भन्दा परिस्थिति ज्यादै फरक र भयानक छ” बाइडेनले भनेका छन् ।

रुसी सेना निरन्तर युक्रेनी सीमातर्फ अघि बढिरहेकोले छिट्टै भयानक अवस्था आउनसक्ने पनि उनले बताएका छन् । विश्वकै सवैभन्दा ठूलो सेनासँग डील गर्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्रपति बाइडेनले रुसी र अमेरिकी सेनाले एक अर्का विरुद्ध गोली हान्न सुरु गर्ने वित्तिकै विश्वयुद्ध हुने खतरा रहेको बताए ।

अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै उक्त देश छाड्न आग्रह गरेको छ । यसैबीच, युक्रेनले समुद्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्‍याएको बताएको छ ।

युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट विच्छेद गर्न रुसले नियतवश अवरोध पुर्‍याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुद्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ । अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका डुंगाहरु तैनाथ छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot