काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेश गरेको प्रस्ताव सभामुखले रोक्ने अधिकार नभएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलनमा बोल्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटाले अनाधिकृत तरिकाले बलमिच्याई गरेको टिप्पणी समेत गरे ।
एमसीसीको प्रस्ताव सरकारले पेश गर्दा टेबुल नगर्ने सभामुखको संकेतर्फ औल्याउँदै ओलीले भने,‘सभामुखले पेश नगरेर रोक्छु भन्ने कर्तव्य र अधिकार छैन । अनाधिकृत तरिकाले बलमिच्याई गरेका छन् ।’
गठबन्धनमा पदलोलुपता र निरिहता देखिएको टिप्पणी समेत गरे । सभामुखले प्रस्ताव रोक्छु भन्दा गठबन्धन चइक्क नबोलेको बताए । सभामुख अधिकार भन्दा बाहिर गएको तर्क गर्दै भने,‘यसअघिका सभामुखले अनाधिकृत रुपमा त्यस्तो क्रियाकलाप गरेका छन् । संसदलाई निर्णयार्थ दिने उनको अधिकारको कुरा होइन ।’
सभामुखले निष्पक्ष भूमिका निभाउन नसकेको ओलीको आरोप थियो । उनले भने,‘अनाधिकृत कार्य गर्ने सभामुखको प्रशंशामा केही व्यक्ति पुगिरहेका छन् ।’