Logo

राष्ट्रिय जनगणनामा गडबडी



काठमाडौं, माघ २९ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएदेखिनै विवादित भइरहेको छ। प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै सर्वसाधारण, जनप्रतिनिधि र सांसदले समेत जनगणनामा आफू छुटेको भन्दै गुनासो गर्दै आइरहेका छन्।

मेरो जनगणना मेरो सहभागिता भन्ने नारा तय गरीएको गणनामा आफूहरूकोे गणनानै नभएको गुनासो गरिरहेका छन्। दसौंं वर्षदेखि नेपालको जनसंख्या ३ करोड अनुमान गरिए पनि अझै त्यो संख्या किन पुगेनरु विभिन्न जिल्ला तथा स्थानीय तहमा जनसंख्याभन्दा मतदाताको संख्या कसरी धेरै भयो? आखिर गणनामा के कम्जोरी भयो तरु किन आम मानिसहरू जनगणनाको तथ्यांकलाई सहज रूपमा पत्याउन तयार छैनन्?

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनसंख्याको विवरणमा त्रुटि भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। आँकडा त्रुटिपूर्ण रहेको भन्दै एकातिर पुनः गणना गर्न माग भइरहेको छ भने अर्कोतर्फ केही स्थानीय तहले असन्तुष्टि जनाउँदै पुनः जनगणनाको काम समेत सुरु गरेका छन्।

विभागले गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना अभियान सञ्चालन गरेको थियो। माघ १२ गते विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्‍यो। जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९५ हजार ५ सय ४ थियो। त्यसैलाई आधार मान्दै जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भन्ने प्रक्षेपण गर्दै धेरैले ‘तीन करोड नेपाली जनता’ भन्ने वाक्यलाई थेगो जसरी प्रयोग गर्दै आइरहेका थिए। तर प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पनि पुगेको देखिएन, झन्डै ८ लाख कम देखियो।

केन्द्रीय तथ्यांक विभागले सही विधि अपनाएर जनसंख्याको विविरण संकलन गरेको दाबी गरिरहँदा सर्वसाधरण भने यो तथ्यांक सही होइन, पुनः जनगणना गर्नुपर्छ, विदेशमा बसेका नागरिकको सही तथ्यांक संकलन भएको छैन भन्ने प्रतिक्रिया दिइरहेका छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot