Logo

परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयोः ओली



काठमाडौं, माघ २९ । नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन्। अध्यक्ष ओलीले ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रम शुक्रबार केन्द्रीय कार्यालय, काठमाडौंबाट भर्चुअलरुपमा उद्घाटन गरेका हुन्।

अध्यक्ष ओलीले उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्थानीय तह निर्वाचन मिनी जनमतसंग्रह भएको भन्दै सबै नेता कार्यकर्तालाई त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए। उनले जनता निकै सचेत भएकाले अबको निर्वाचनमा पहिलाजस्तो मतपत्र च्यात्ने तिक्डमबाजी नचल्ने बताए।

अध्यक्ष ओलीले निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच वास्तविक लडाइँ हुने बताए। एमालेले वर्तमान सरकारलाई परमादेशवालाको संज्ञा दिँदै आएको छ। ओलीले पवित्र जनमतले मात्रै देश विकास हुने धारणा राखे। ‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू अहिले सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ।

अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ। जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुनेछ’, उनले भने। वास्तविक लडाइँको मैदानमा आफूहरू प्रवेश गरेको भन्दै उनले यो लडाइँ स्थानीय चुनावबाट सुरु भएर संघ र प्रदेश निर्वाचनसम्म कायम रहने बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्