काठमाडौं, २९ माघ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु यसको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुने घोषणा गरिएको छ ।
निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक तयारीसमेत गरिरहेको छ। देशकै जेठो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाको निर्वाचन निकै चासोको रुपमा हेरिएको छ ।
अहिले नेकपा (एमाले) बाट निर्वाचित विद्यासुन्दर शाक्य मेयर छन् । एमालेले काठमाडौंमा आफ्नो वर्चश्व कायम राख्नेगरि निर्वाचनकेन्द्रित छलफलसमेत चलाएको छ ।
शाक्य पूनः एक कार्यकाल दोहोरिने चाहनामा छन् । तर, उनले निर्वाचनमा जनतासामू गरेको वाचा पूरा गर्न नसकेको आरोप पनि खेपिरहेका छन् । एमालेले भने यसपटक काठमाडौं महानगरपालिकाको मेयरमा नयाँ अनुहार पठाउने चर्चा छ ।
एमालेबाट मेयर बन्नको लागि शाक्य, केशब स्थापित र रामवीर मानन्धरको नाम चर्चामा छन् । शाक्यले यसअघि ०७४ कै निर्वाचनमा मेयरमा आफ्नो दाबी गरेका थिए । तर, पार्टीले उनलाई प्रदेश सभामा पठाउने भएपछि उनी मेयरको दाबेदारीबाट ब्याक भएका थिए ।
अहिले भने उनले मेयरमै आफ्नो दाबी प्रस्तुत गरेका छन् । उता, प्रतिनिसभा सदस्य तथा पूर्वमन्त्री रामबिर मानन्धरलाई पनि काठमाडौंवासीले मेयरमा उठ्न आग्रह गरेको चर्चा छ । शाक्यलाई मेयर बनाउनको लागि पनि मानन्धरले नै निर्णायक भूमिका खेलेका थिए ।