काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसीको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले आउने फागुन २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने बताएका थिए । तर, दाहाल र नेपालले भने तत्काल एमसीसी अघि नबढाउन आग्रह गरेका थिए ।
स्रोतकाअनुसार फागुन २ गतेको प्रतिनिधिसभा बैठक पनि सार्न दाहाल र नेपालले धारणा राखेका थिए । यसअघि एमालेले पनि फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न आग्रह गरिसकेको छ।
पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा चलिरहेको छ। यही बीचमा गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक तथा छलफल चलिरहेको छ ।