Logo

सभामुख हटाउने योजना चाल पाएपछि प्रचण्ड देउवाविरुद्ध आक्रामक



काठमाडौं, २९ माघ । एमसीसी टेबुल गर्न नदिने गरी सभामुख अग्निप्रसाद सापकोटा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पहरुमा जाने तयारीमा छन् । एमसीसी टेबुल गर्नुपर्ने देउवाको जिकिर छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले २८ माघमा थापाथलीस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सभामुखलाई सरकारको प्रस्ताव टेबुल गर्नबाट रोक्ने कुनै अधिकार नभएको तर्क गरेका थिए ।

एमसीसी टेबुल गर्नुपर्नेमा देउवा र ओलीको एकमत देखिएको छ । यसबाट प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।

आज बालुवाटार पुगेका प्रचण्ड र माधव नेपालले देउवासँग आशंकाहरु प्रष्ट पार्न भने । प्रचण्डले ‘सभामुख हटाउन खोजेको हो ?’ भनी प्रश्न गरेका थिए । देउवाले त्यसलाई सिधै अस्वीकार गरेका थिए । यद्यपि, सभामुख बाधक बने देउवाले कठोर निर्णय लिने तयारी समेत गरेको बुझिएको छ ।

एमसीसी रोक्न प्रचण्ड र माधव नेपाल खुलेरै लाग्न थालेपछि देउवाका लागि गठबन्धन तोड्नु या एमसीसी रोक्ने पक्षमा लाग्नुको विकल्प छैन ।

प्रचण्ड र माधव नेपालले देउवालाई गठबन्धन तोड्न चुनौती दिइसकेका छन् । यसबाट पनि उनीहरु पूरा तयारीमा रहेको संकेत मिलेको छ ।
प्रचण्डले आज प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्का लागि ऋषि धमलासँगको अन्तवार्तामा ओलीसँग सहकार्यका लागि अघि बढ्ने बताएका छन् । यसबाट कम्युनिस्ट एकताका साथ उनी एमसीसी रोक्न अगाडि बढ्ने संकेत गरेका छन् ।

सभामुख सापकोटाको पद जोगाउन र एमसीसी असफल बनाउन प्रचण्ड रणनीतिक रुपमा बढेका छन् । सभामुखलाई हटाउने प्रस्ताव सकभर रोक्ने र आएपनि असफल बनाउने उनको रणनीति देखिदैछ । सभामुख हटाउन दुई तिहाई चाहिन्छ । काँग्रेस, एमाले, जसपा र लोसपा मिलेमा सभामुख हटाउने प्रस्ताव दुई तिहाईले पारित हुनसक्छ । प्रचण्डले ओलीसँग सहकार्य या एमालेभित्र एमसीसी विरोधीसँग मिलेर सभामुखविरुद्धको प्रस्ताव असफल बनाउने पूर्वतयारी गरिसकेका छन् । एमाले नेता भीम रावल अहिले नै एमालेभित्र आफ्नो पक्षमा १३ भन्दा बढी सांसद तान्न सक्रिय छन् । उनले १३ सांसद तान्न सकेमा सभामुख हटाउन प्रस्ताव आए दुई तिहाई नपुग्ने र एमसीसी पनि टेबुल नहुने परिस्थिति बन्न सक्छ ।

प्रचण्ड पछिल्लो समय निकै विश्वस्त बन्दै गएका छन् । उनले यसकारण आज देउवालाई सिधै सभामुख हटाउन खोजेको ? भनी प्रश्न गरे । उनले ओलीसँग सहकार्य गर्ने देखि एमालेभित्र एमसीसी विरोधीसँग मिल्ने सम्मको विकल्प् तयार गरेका छन् । यसरी प्रचण्ड आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्