Logo

कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो



काठमाडौं, फागुन १। कोरोना महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट तीव्र रूपले फैलँदासमेत वैदेशिक रोजगारीमा जानेको संख्या झन बढेको छ । पहिलो र दोस्रो लहरको महामारीको बेला वैदेशिक रोजगारीमा जाने क्रममा केही कमी आए पनि तेस्रो लहरको बेला भने खासै असर नगरेको पाइएको छ।

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।

वैैदेशिक वैदेशिक रोजगार विभागका अनुसार केही महिनादेखि वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ। विभागका अनुसार मंसिरमा करिब ७४ हजार वैदेशिक रोजगारीमा गएका थिए भने पुसमा उक्त संख्या ६६ हजार बढी रह्यो।

कोरोना महामारी सुरु भएयता वैदेशिक रोजगारीबाट फर्किएका करिब ६ लाखमध्ये धेरैले स्वदेशमा कुनै न कुनै काम गर्न खोजे पनि त्यस्तो अवसर नपाउँदा पुनः वैदेशिक रोजगारीमा जानु परेको बताइन्छ। कतिपयले परिवार पाल्नकै लागि वैदेशिक रोजगारीमा जानु परेको बाध्यता सुनाएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसी) का अनुसार कोरोनाका कारण गत वर्ष रोजगारी गुमाएर ६१ देशबाट पाँच लाख ९० हजार तीन सय ४५ नेपाली स्वदेश फर्किएका थिए। उनीहरू कोरोनाका कारण समस्यामा परेर तथा रोजगारी गुमाएर फर्किएको सरकारी अधिकारीहरू बताउँछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने दायित्व आफ्नो भन्दा पनि उद्योग, अर्थजस्ता मन्त्रालयको हुने दावी गर्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot