Logo

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता



एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताएका छन् ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताएका थिए । दुई शिर्ष नेताबीच यसअघि २०२१ को अन्त्यतिर र त्यसअघि डिसेम्बर ७ मा भिडियो संवाद भएको थियो । २०२१ को जुनमा पहिलो पटक जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।

वासिङ्टन र उसका सहयोगीहरूले रुसी फौजले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । तर, युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै पश्चिमा आरोपलाई खण्डन गर्दै आएको छ ।

शनिबार बाइडेनसँग फोनवार्ता गर्नुअघि पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग टेलिफोनमा कुरा गरेका थिए । फ्रान्सका राष्ट्रपति म्याक्रोनले पुटिनलाई युक्रेनमा तनाव बढ्दै गएसँगै इमानदार वार्ता असंगत रहेको बताएका थिए । पुटिनले म्याक्रोनलाई भनेको कुरामा रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै संकेत नभएको एक फ्रान्सेली अधिकारीले बताए । यद्यपि, रुसी सैन्य मुद्रामा आफूहरू अत्यन्तै सजग र सतर्क रहेको उनको भनाइ छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot