Logo

“मान्नै नसकिने स्थितिमा अग्निजीले राजीनामा दिएर हिँड्नुपर्छ” : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ ले एमसीसीमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् । संशोधन र परिमार्जनको प्रक्रियाबिना एमसीसी संसद्मा प्रस्तुत गर्नु आपत्तिजनक हुने प्रचण्डको दाबी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “संशोधनको प्रक्रिया पूरा नगरी यत्तिकै प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गर्नमा मेरो आपत्ति छ । यसमा मैले षडयन्त्र भइरहेको महसुस गरेको छु । प्रधानमन्त्रीले मलाई खबर नगरीकन किन संसद्को बैठक सार्नुभयो । बिचरा अग्नि (सापकोटा)जी सरकार र कानुनमन्त्रीबाहेक अरु सल्लाह गर्नुहुन्न । उहाँले सरकारले बहसमा लान्छु भन्दा लान्नँ भन्न मिल्दैन । मान्नै नसकिने स्थितिमा राजीनामा दिएर हिँड्नुपर्छ ।”

उनले थपे, “अग्निजीलाई सभामुख बनाउने कुरामा निकै बहस भएको थियो नेकपाभित्र । पछि झलनाथ खनाल, बामदेव गौतम, माधव नेपालसहितको दुई तिहाइ बहुमतले बनाएको थियो । एमालेले एमसीसी अनुमोदन गराउन अग्निलाई हटाउनुपर्ने सर्त राखेको छ । नेकपा एकीकृत समाजवादी अग्निजीले बनाएको त होइन नि । उहाँले एमालेका १४ जना सांसदमाथिको कारबाही तत्काल कार्यान्वयन नगरेको कुरामा हामी त खुसी छौं ।”

“सरकार र गठबन्धन छाड्नुपर्ने स्थिति आउन सक्छ”

सहमति, परिमार्जन र संशोधनबिना संसद्मा एमसीसी प्रस्तुत गर्ने कुरा बलमिच्याइँ हुने उनको जिकिर छ । उनले भने, “अहिलेसम्म हाम्रो देउवाजीसँग सम्बन्ध तोडिएको छैन । त्यसैले उपायको खोजीमा छौं । खुला दिलले कुरा गरिरहेका छौं । एमसीसी अहिले जन्मिएको विवाद पनि होइन । गठबन्धन एमसीसी पास गर्न बनेको होइन । सबै दलको अडान पनि पुरानै हो । तर त्यसरी संसद्मा टेबल भयो भने बडा अप्ठ्यारो स्थिति आउँछ । हामी नैतिक रुपमा सरकारमा बस्न सक्दैनौं । गठबन्धन छाड्नुपर्ने स्थितिमा आउन सक्छ । अर्को ढंगले समीकरण बन्न पनि सक्छ ।”



प्रतिक्रिया दिनुहोस्