Logo

अनावश्यक वन फँडानी रोकिनुपर्नेमा मन्त्री थापाको जोड



गण्डकी, १ फागुन: गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले अनावश्यक वन फँडानी रोकिनुपर्ने बताएका छन् । प्रजातान्त्रिक वन प्राविधक सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले नेपालमा अनावश्यक रुपमा वन फँडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

“अनावश्यक रुपमा वन फँडानी हुँदा प्राकृतिक विपत्ति जस्ता समस्या आइरहेका छन्”, उनले भने, “हरियो वन नेपालको धन केवल नारामा मात्रै सीमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।” प्रदेश सरकारले वन संरक्षणसम्बन्धी ऐन निर्माण गर्ने तयारी गरिरहेको र सङ्घीय सरकारको केही झन्झटिलो नीतिनियमका कारण रोकिएको उनले जानकारी दिए । वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्ने उल्लेख गर्दै उनले वन संरक्षणमा वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताए ।

वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकको आगमन बढ्ने बताए ।

वन प्राविधिकका समस्या न्यूनीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले दक्ष जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । विकास विरोधी वन ऐनका कारण कतिपय काठ वनमा नै कुहिएर नाश हुने अवस्था रहेको जनाउँदै उनले यसलाई संशोधन गरी विकासमैत्री बनाउनुपर्ने बताए । वनलाई संरक्षण गर्दै पुराना रूखलाई काठका रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot