काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि आज महाभियोग प्रस्ताव दर्ता भएको छ । माओवादीले देशभर ‘जनयुद्ध दिवस’ मनाइरहँदा महाभियोग प्रस्ताव दर्ता हुनुलाई अर्थपूर्ण मानिएको छ ।
महाभियोग प्रस्तावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुको हस्ताक्षर छ । प्रस्ताव ल्याउनुमा रातारात प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सहमति निकालेको बुझिएको छ । तर, प्रचण्ड र माधव नेपालको विशेष चाहना खुलेको छ ।
प्रचण्डले जनयुद्ध दिवस पारेरै महाभियोग लगाउने कदम चाले । माधव नेपालले नेकपा एसको कानूनी गठनमाथि औंला ठड्याउनेलाई सहन नसक्ने चेतावनी दिएका छन् । आज महाभियोग दर्ताको केही घन्टापछि उनले भने, ‘कानूनी रुपमा पार्टीको मान्यता पाएका छौं । कसैले धावा बोल्न खोज्छ भने सहन सक्दैनौं ।’
प्रचण्ड र माधव नेपाल संवैधानिक परिषदको नियुक्ति खारेजीको पक्षमा थिए । यसका लागि दबाब सृजना गरिरहेका थिए । प्रधानन्यायाधीश जबराले यो मुद्दा अड्काएको उनीहरुको बुझाई थियो । यसकारण पनि जबरा तारोमा परे ।
अर्कोतर्फ, न्यायपरिषदबाट न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीश जबरासँग प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टि देखियो ।
महान्यायाधिवक्ता खम्बबहादुर खातीले बैठक नै बहिष्कार गरे । त्यसपछि जबरा पेलेरै न्यायाधीश नियुक्तिमा बढ्न खोजे । अर्कोतर्फ, देउवाले एमसीसी पारित गराउन रणनीतिक कदमहरु चाले । जसले निर्णायक शक्तिहरुलाई राजनीतिक खेलको मैदानमा तानेको छ ।