Logo

इतिहासमै डरलाग्दो घटनाको खतरा, चक्रव्यूहमा को को परे ?



समाचार विश्लेषण । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धका महाभियोगको मागहरु सबै राजनीतिक थिए भन्ने घटनाक्रमले उजागर गरिसकेको छ । महिनौं देखि नेपाल बार एशोशिएसनको एउटा पक्ष महाभियोगको माग राख्दै आन्दोलनमा थियो । त्यो पक्ष सत्ता गठबन्धनसँग नजिक थियो । जब सत्ता गठबन्धनले महाभियोग प्रस्ताव ल्याए बार र कानून व्यवसायीहरुको एउटा समूह विजेता झै प्रस्तुत भयो ।

एमालेले भनेजस्तै महाभियोग छापामार शैलीमा आयो । एमसीसी, सभामुख हटाउने प्रस्तावलगायतका विषय चर्चामा आइरहँदा गठबन्धनभित्र रातारात बनेको सहमति अनुसार महाभियोग आयो । यो एक प्रकारको चक्रव्यूहको रचना नै हो ।

अहिले रचिएको चक्रव्यूह एमसीसीसँग जोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएर बढेका छन् । तर, गठबन्धनकै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी रोक्ने गरी प्रस्तुत भएका छन् ।

गठबन्धनमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रस्तुत गरेको एमसीसी सम्झौता पारितको प्रस्ताव टेबुल गर्ने सहमति विकास भएको छ । टेबल भएपछि निर्णयार्थ प्रस्तुत हुने नै छ । त्यतिबेला गठबन्धनका दलहरुमध्ये माओवादी र नेकपा एसले चाल्ने कदम महत्वपूर्ण हुनसक्छ । उनीहरु एमसीसीको विरोधमा खुलेरै लागेका छन् ।

एमसीसी असफल भएमा प्रचण्ड र माधव नेपाल एकसाथ सफल हुनेछन् । अहिले रचिएको चक्रव्यूहमा देउवा आफै फस्नेछन् र ओली पनि नराम्रो धक्का खानेछन् । देउवालाई एमसीसी सफल बनाउन नसकेको आरोप लाग्नेछ । ओलीलाई एमसीसी असफल बनाएको आरोप लाग्नेछ । प्रचण्ड र माधव नेपाल त एमसीसीको विरोधमा खुलेकै छन् । उनीहरुको चाहना पूरा हुनेछ ।

महाभियोगको प्रस्तावसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् । अहिले वरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छन् । उनीसहित ४ वरिष्ठ न्यायाधीशमाथि एमालेले महाभियोगको प्रस्ताव दर्ता गर्ने सम्भावना पनि छ । महाभियोग ल्याउने प्रतिष्पर्धा नै चल्न सक्छ ।

अहिलेको घटनाक्रमको मुख्य उद्देश्य एमसीसी पारित गराउने या असफल बनाउने नै देखिन्छ । यसमा देउवाल फायर खोलेका छन् । तर, एमसीसी पारित गर्न गठबन्धनका दल नै बाधक बनेमा उनका लागि ओलीसँग मिल्नुको विकल्प रहँदैन । त्यतिबेला घटनाक्रमले उल्टो रुप लिन्छ । महाभियोग ओलीले चाहेकाहरुविरुद्ध लाग्न थाल्छ । जसरी अहिले प्रचण्ड र माधव नेपालले चाहेकाविरुद्ध महाभियोग लागेको छ ।

अब प्रचण्ड र माधव नेपालले रणनीतिक तरिकाले एमसीसी पारित गर्न साथ दिनुको विकल्प देखिदैन । नदिने हो भने असफल बनाएर देउवालाई चक्रव्यूहमा पार्ने रणनीति सफल हुनसक्छ । त्यतिबेला ओलीसँग प्रचण्डको नयाँ ढंगले टकराव चल्न सक्छ ।

चक्रव्यूहमा नेताहरुको युद्ध सुरु भएको छ । अब को को फस्ने हुन् र फसाउनेहरुलाई काउन्टर हुने हो प्रतिक्षाको विषय बनेको छ । देउवा र ओली मिल्ने अवस्था विकास भएमा प्रचण्ड र माधव नेपालले ठूलो धक्का खानुपर्ने हुनसक्छ । त्यतिबेला चोलेन्द्र शमशेर जबरा फेरि अदालत फर्किएर शक्तिशाली बन्न सक्छन् । अन्यथा महाभियोगमा वरिष्ठतम न्यायाधीशहरु परेर अर्को कुनै न्यायाधीश प्रधानन्यायाधीशको कुर्सीमा बस्न सक्छन् ।

अहिलेको घटनाक्रमले राजनीतिक दलका शिर्ष नेता, सर्वोच्च अदालतका प्रधान्यायाधीश र केही न्यायाधीशहरुका अलावा संवैधानिक निकायका पदाधिकारीहरु नै घानमा पर्ने घटना विकास भएको छ । नेपालको इतिहासमा कहिले नघटेका घटना हुँदैछ । महाभियोगको अस्त्र हानाहान देखि एक अर्कालाई सिध्याउने डरलाग्दो खेलमा नेताहरु कहिले लागेका थिएनन् अब लाग्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot