कुशुम भट्टराई : प्रेमका अनेक सतही आयाम छन् । मोहलाई पनि हामी प्रेम ठानिरहेका हुन्छौं, जुन दुःखको कारण हो । आकर्षणलाई पनि हामी प्रेम ठानिरहेका हुन्छौं, जुन क्षणिक हुन्छ । समर्पणलाई पनि हामी प्रेम ठानिरहेका हुन्छौं, जसमा अहँकार हुन्छ । विश्वासलाई पनि हामी प्रेम ठानिरहेका हुन्छौं, जुन कुनै पनि बेला घातमा परिणत हुन सक्छ ।
असली प्रेम नितान्त निजी आयाम हो । प्रेम खासमा अरुलाई गर्ने कुरै हैन । अनि प्रेम अरुबाट पाउने कुरा पनि हैन । तपाइ आफैमा मस्त, प्रेमल मुडमा हुनुहुन्छ भने त्यही प्रेमको अवस्था हो ।
एकपटक आफ्नो हात आफैले मुसार्नुस् र चुम्नुस् । ऐनामा हेरेरै सही, आफ्नो मुहारलाई आफैले चुम्नुस् । आफ्नो मुहार हेरेर आफै दंग पर्नुस्, आफ्नै शरीर हेरेर आफैप्रति आकर्षित हुनुस् ।
मनमा भाव जगाउनुस्, अहो, यत्रो ब्रम्हाण्डमा कहीं कतै प्राणीको अस्तीत्व भेटिएको छैन । यही पृथ्वीमा प्राणी छन् । ति प्राणीमा पनि सर्वश्रेष्ठ मानिसको रुपमा म जन्मिएको रहेछु । इश्वरले मलाई प्राणीहरुको उच्चतम स्वरुपमा जन्म दिनुभएको रहेछ । मेरो मानव शरीर नै सबैभन्दा उत्कृष्ट, आकर्षक र अद्वितिय छ । अतः आफैलाई, आफ्नै शरीरलाई प्रेम गर्छु । इश्वरले जुन मेरो शरीरको सिर्जना गरे, यदि मैले यही शरीरलाई माया गरें भने त्यो इश्वरप्रतिको मेरो प्रेम हुनेछ ।
बस, यही भाव मनमा जगाएर प्रेमल, आनन्दीत र मस्त हुनु नै प्रेम हो । प्रेमका बाँकी परिभाषा भनेको मोहको व्यापार मात्र हो ।जसले आफैलाई प्रेम गर्छ, उही सच्चा प्रेमी हो । यही भएर मैले उपनाम ‘बिन्दास’ राखेको हो । बिन्दास शब्दमै छ, प्रेमको असली अर्थ । जो बिन्दास छ, उही सच्चा प्रेमी हो । अतः बिन्दास हुनुस्, उदास नहुनुस् । बिन्दास हुनु नै प्रेम घटित हुनु हो । हयाप्पी भ्यालेन्टाइन डे टु मी ।