काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९ बजेको लागि बैठक बोलाएको हो ।
बैठक संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाईएको छ । हिजोमात्रै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ जना सांसदहरुको हस्ताक्षरहित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको छ ।
प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । अहिले सर्वोच्चमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । कामु प्रधानन्यायाधीश कार्कीले आजमात्रै अनौपचारिक फूलकोर्टको बैठक बोलाएका छन् ।