काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिमा जहिले पनि आक्रामक बन्दै आएका छन् । सरकारमा हुँदा होस् या नहुँदा उनी आक्रामक बनेर विपक्षीलाई हायलकायल पार्न खप्पिस छन् ।
विपक्षीले कडा कदम चाले उनी कहिल्यै रक्षात्मक बन्दैनन् जहिले आक्रामक बन्छन् । ओली सरकार ढाल्ने राजनीतिक खेलमा पनि उनी आक्रामक नै बने । बरु उनको सत्ता ढल्यो तर रक्षात्मक बनेनन् ।
पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई एक्लाउन सक्यो । ओली कमजोर हुँदै गए तर रक्षात्मक बन्न तयार भएनन् ।
यसपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भयो । यसलाई ओलीले छापामार शैलीमा चुनाव सार्ने षड्यन्त्र भने । उनले आज एमाले संसदीय दलको बैठकमा पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । यसलाई संविधान कार्यान्वयन असफल बनाउन खोजेको बताए ।
ओलीले गठबन्धनप्रति तिव्र आक्रोश पोखेका छन् । तर, उनी अब आक्रामक बन्छन् या रक्षात्मक भन्ने चासो बनेको छ । प्रधानन्यायाधीशविरुद्ध महाभियोगको काउन्टरमा एमालेले पनि महाभियोगहरु दर्ता गर्ने सम्भावना बढेको छ । सर्वोच्चका केही वरिष्ठ न्यायाधीशहरुविरुद्ध महाभियोगको चर्चा छ । सँगै सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्तावको तयारी पनि छ ।
ओलीले यी दुवै कदम चालेमा आक्रामक बनेको ठहरिन्छ । अन्यथा उनी धेरैपछि राजनीतिमा रक्षात्मक बनेको सन्देश जानेछ । यसपटक उनी आक्रामक बन्ने हुन् या रक्षात्मक ? प्रतिक्षाको विषय बनेको छ ।