काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा तत्काल चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग नलगाउनेबारे छलफल भएको छ ।
यसअघि एमालेले परमादेश जारी गर्ने चार न्यायाधीहरुमाथि महाभियोग लगाउनेगरि एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको कुरा बाहिरि आएको थियो ।
आज (सोमबार) संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा आएर कुनैपनि कदम नचाल्नेबारे अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले ब्रिफिङ गरेका थिए ।
सांसदहरुले पनि महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्दा पार्टीलाई ठूलो क्षति हुनेतर्फ अध्यक्ष ओलीलाई सचेत गराएका थिए । यसरी चोलेन्द्रलाई बोक्न नहुने भनेर सांसदहरु भीम रावल र घनश्याम भुषालले आफ्नो धारणा राखेका थिए ।
बरु, रावलले अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोध गर्नुपर्ने आवाज उठाएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भनेका छन–‘यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन।’ Photo By: Mukunda Kalikote/ReportersNepal