Logo

भीम रावलले दिए ओलीलाई चुनौती, एमसीसीमा निर्णायक शक्ति बन्ने दाउ



काठमाडौं, २ फागुन । राजनीतिक रोचक मोडतर्फ बढिरहेको छ । नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव र ४ न्यायाधीशलाई महाभियोग लगाउने प्रस्ताव बढाउने तयारीमा छ । तर, एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीइतर समूहले चुनौती दिन थालिसकेको छ ।

एमाले महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका भीम रावलले आज सांसदहरुको हस्ताक्षर संकलनलाई चुनौती दिए । उनीसहित पक्षका सांसदले हस्ताक्षर गर्न मानेनन् ।

रावलसहित हस्ताक्षर गर्न अस्वीकार गर्नेमा घनश्याम भुसाल, झपट रावल, दिपकप्रकाश भट्ट र पवित्रा निरौला खरेल छन् । उनीहरु एमसीसी विरोधी हुन् । विगतमा माधव नेपाल समूहमा थिए ।

हस्ताक्षर गरेपनि कृष्णभक्त पोखरेललगायतले निर्णायक समयमा आफ्नो भूमिका फरक रुपमा देखाउने संकेत गरिसकेका छन् । उनीहरु रावलको पक्षमा जानसक्ने सम्भावना छ । रावलले पनि बढीभन्दा बढी सांसद आफ्नो पक्षमा पारेर एमसीसी निर्णायक चरणमा पुग्दा असफल बनाउने गरी रणनीति चाल्न सक्छन् ।

एकातर्फ, एमसीसी सदनमा निर्णयार्थ प्रस्तुत गर्ने विषयले राजनीति रोचक मोडमा पुगेको छ । अर्कोतर्फ, एमसीसीबारे अलमलमा रहेको एमालेभित्र विरोधी पक्षले शक्ति सञ्चय गर्न थालेको छ ।

परिस्थिति एमसीसी पारित गर्न महाभियोगहरुको फायर बढ्दै जाँदा भीम रावल निर्णायक शक्ति बन्न सक्छन् । उनी त्यही दाउमा छन् । त्यसका लागि आफूनिकटस्थ सांसदहरुलाई एकजुट बनाएर अन्यलाई पनि साथमा लिन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot