काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो मानिन्छ । उनलाई भाग्यले सत्तामा पुर्याउने गर्छ । देउवा जतिचोटी प्रधानमन्त्री भए उति नै चोटी भाग्यले साथ दियो । पछिल्लो पटक देउवा प्रधानमन्त्री बन्न तयार थिएनन् । उनलाई भाग्यले तानेर प्रधानमन्त्री पदमा पुर्यायो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्टन्ट मार्न पछि हट्दैनन् । उनी अनेक जोखिम मोल्छन् । राजनीतिमा निकै चतुरताका साथ चालहरु चल्छन् । निडरता पनि उनको विशेषता हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुशल रणनीतिकार हुन् । उनी रणनीतिक चार्तुयताका कारण राजनीतिको केन्द्रमा छन् । १० वर्षे जनयुद्धबाट देशको राजनीतिक व्यवस्था नै उल्टाउने सफलता रणनीतिकै कारण प्राप्त गरे । पछिल्लो समय सत्ता गठबन्धन जोगाएर आफ्नो राजनीतिक लाभ लिने सफलता हासिल गरेका छन् । प्रचण्डको अर्को विशेषता जोखिम मोल्ने पनि हो । जोखिम मोलेरै उनले देशको राजनीतिक व्यवस्था बदल्न सके ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कुशल व्यवस्थापक हुन् । उनले व्यवस्थापकीय क्षमताबाट नै विगतमा एमालेको संगठन बलियो बनाउन सकेका थिए । अहिले नेकपा एसको व्यवस्थापनमा पनि क्षमता प्रदर्शन गरिरहेका छन् ।
देउवाको भाग्य बलियो भएपनि उनमा रणनीतिक कमजोरीहरु छन् । देउवा आफ्ना विपक्षीहरुबाट झुक्याइने र असफल बनाइने गरेका छन् । विगतमा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम भनी हटाइदिए । त्यतिबेलासम्म काँग्रेस फुटिसकेको थियो । देउवालाई फेरि राजनीतिमा प्रभावशाली हुन दशक भन्दा बढी समय लागेको थियो ।
ओली अति महत्वाकांक्षी छन् । उनी मन नपरेकोलाई पेलेरै भित्तामा पुर्याउन खोज्छन् । इगो पनि राख्छन् । ओली भावुकताबाट पनि चल्ने गरेको विषय उठ्ने गरेको छ । यी कमजोरीले उनलाई बेला बेलामा टाकुराबाट एकैपटक खसालिदिन्छ ।
माधव नेपालमा जोखिम मोल्ने क्षमता कम छ । उनी परिस्थितिजन्य कार्य गर्छन् । परिस्थितिलाई बदल्ने भन्दा परिस्थिति अनुसार चल्न खोज्छन् । यसकारण उनी नेतृत्वमा जम्न सक्दैनन् ।