महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो ।
मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीनपटक फोन गर्दा पनि फोन उठेन । त्यसपछि मैले मेरो गार्डलाई फोन गरें । गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन । दोस्रोपटक फोन उठायो र भन्यो ” सर म त विजी छु। त्यसपछि उसले फोन काट्यो । मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें । …आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो “…. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ ।” मतलब उसले मलाई ब्लक गरिसकेको थियो ।
मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय विनय गर्थ्यो । उसले फोन उठायो र हाँस्दै भन्यो ” सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।” म चुप लागें । उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडिबाट आवाज आयो “को हो ?” उसले भन्यो ” रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ स्साला ….!”
म सत्ता र शक्तिमा हुँदा प्राय:ले भन्ने गर्थे ” यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !” मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ । (पूर्व डिआइजी शाहको फेसबुक पेजबाट साभार । उनी मदन पुरस्कार विजेता साहित्यकार हुन् )