Logo

एमसीसी टेबल हुनेभएपछि माओवादी र एसले डाके बैठक



काठमाडौं, ३ फागुन । एमसीसीबारे निर्णय लिन अमेरिकाले दिएको समयसीमा १३ दिन बाँकी छ । १६ फागुनमा एमसीसीबारे निर्णय लिनुपर्ने वाध्यकारी अवस्था छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी ४ फागुन भोलिको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्ने बताइसकेका छन् । यसलाई सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने बुझिएको छ ।

एमसीसी टेबल भएपनि निर्णयार्थ प्रस्तुत गर्न कम्तिमा एक हप्ता समय लिइने बुझिएको छ । एमसीसीबारे सदनमा छलफलको तयारी समेत भएको छ ।

एमसीसी सदनमा टेबल हुने भएपछि नेकपा माओवादी केन्द्रले ८ फागुनमा केन्द्रीय कमिटी बैठक डाकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले ७ फागुनमा स्थायी कमिटी बैठक डाकेको छ । दुवै बैठकहरु एमसीसीबारे केन्द्रित हुने बुझिएको छ ।

माओवादी र नेकपा एसले एमसीसीबारे सदनमा कसरी प्रस्तुत हुने निर्णय लिने बुझिएको छ । तर, यसबारे निर्णय लिन दुवै दलले सबै अधिकार अध्यक्षहरुलाई दिने सम्भावना पनि छ । विगतमा कठिन निर्णयहरु लिनेबेलामा यस्तै गर्ने परिपाठी कम्युनिस्ट पार्टीमा विद्यमान छ ।

एमसीसी टेबल भएपछि अलमल गर्ने, पारित गर्ने या असफल बनाउनेमध्येको विकल्पमा प्रचण्ड र माधव नेपाल जाने निश्चित छ । उनीहरु सकेसम्म सदनमा टेबल गरेर अलमलमा राख्न चाहिरहेका छन् । तर, अमेरिकाले १६ फागुनको अल्टिमेटम दिएकाले सम्भव छैन ।

सदनमा आफू अनुपस्थित भएर पारितको वातावरण बनाउन प्रचण्ड र माधव नेपालले रणनीतिक चार्तुयता देखाउने सम्भावना पनि छ । यो विषय सत्ता गठबन्धनको भविष्यसँग पनि जोडिएको छ । एमसीसी असफल बनाउन दुवै नेता लागेकै हुन् भने महाभियोग हुँदै क्ल्याइमेक्सतर्फ बढेको खेल रोचक मोडमा पुग्नेछ ।

देउवा एमसीसी पारित गर्न केन्द्रित भएकाले उनी विकल्पसहित बढ्न सक्छन् । एमसीसीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना पनि छ । खाली कागजमा काँग्रेसका सांसदहरुलाई हस्ताक्षर गराइएको अरु प्रति पनि बाँकी रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्