काठमाडौं, ३ फागुन । युरेनियम बहुमूल्य धातु हो । यसको प्रयोग आणविक हतियार बनाउन समेत प्रयोग हुन्छ । युरेनियम औषधी, उद्दोग र हतियार निर्माणमा विश्वभर प्रयोग हुन्छ । यसको व्यवसाय कडा बनाइएको छ । नेपालमा युरेनियम विक्रीवितरण प्रतिबन्धित छ ।
तर, पछिल्लो समय युरेनियम कारोबारीहरु सक्रिय हुन थालेका छन् । आज प्रहरीले भारतबाट युरेनियम जस्तो पद्धार्थ ल्याएर कारोबार गर्न खोज्ने ८ जनालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ललितपुर काँग्रेसका नेता नवराज महत समेतलाई पक्राउ गरेको हो । महत ललितपुर क्षेत्र नम्बर ३१ बाट प्रदेशसभाका उम्मेदवार थिए ।
होटल हायात रिजेन्सीमा युरेनियमको डिल भइरहेको थियो । प्रहरीले गोप्य सूचनाका आधारमा पुगेर बा ५ च ८२०९ नम्बरको कारभित्र २ किलो ८०० ग्रामको पद्धार्थ नियन्त्रणमा लियो ।
महतसहित भुपेन्द्रबहादुर खड्का सुरुमा पक्राऊ परेका थिए । उनीहरुको बयानका आधारमा रामकृष्ण लामिछाने, गोपिलाल दास, नारायण यादव, सुरेन्द्र प्रसाद चौधरी, उपेन्द्रकुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका थिए ।
एक वर्ष अघि बौद्धबाटै २ केजी युरेनियम जस्तो धातुसहित ४ जना पक्राउ परेका थिए । अहिले पनि बौद्धमै युरेनियम कारोबारी पक्राउ पर्नुले त्यहाँ अवैध कारोबारी सक्रिय भएको चर्चा चलेको छ ।