काठमाडौं, ४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ११औं चरणका खेल अन्तर्गत आज (बुधबार) तीन खेल हुँदैछन् ।
आज हुने तिन खेल मध्य आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मछिन्द्रले आजको खेलमा जित निकाले उपाधि आफ्नो पोल्टामा पार्नेछ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४ः४५ बजे सुरु हुनेछ ।
१० अंक जोडेको पुलिस दशौँ स्थानमा छ भने थ्री स्टार १७ अंकका साथ चौंथो स्थानमा रहेको छ ।
साथै, एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मी १८ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ भने १२ अंक जोडेको हिमालयन आठौं स्थानमा छ ।