काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकले गठबन्धन टुट्न सक्ने निष्कर्ष निकालेको छ । प्रचण्डले आफ्ना केही विश्वासपात्रहरुसँग गठबन्धन टुट्न सक्ने भन्दै तयारी अवस्थामा रहन भनेको बुझिएको छ ।
एमसीसी पारित गर्ने पक्षमा कुनै हालतमा जान नसक्ने प्रचण्डले आन्तरिक बैठकमा स्पष्ट पारिसकेको बुझिएको छ । आज बसेको माओवादी बैठकमा पनि यसबारे प्रष्ट पारेका छन् ।
एमसीसी सदनमा टेबल हुने चर्चा चलिरहँदा मङ्गलबार साँझ माओवादी प्रवक्ता कृष्णबहादुर महराले आफ्नो दल पास गर्ने पक्षमा नजाने स्पष्ट पारेका थिए । उनको भनाईले माओवादी एमसीसी कुनै हालतमा पारित गर्न नदिने गरी लागेको प्रष्ट भएको छ ।
माओवादीले एमसीसीविरुद्ध सडक आन्दोलनको तयारी समेत गरिसकेको छ । आज माओवादी जनवर्गीय संगठन एमसीसीविरुद्ध सडकमा ओर्लिएका छन् । सत्तामा रहेको माओवादीको जनवर्गीय संगठन एमसीसीविरुद्ध सडकमा आउनुले तरंग नै ल्याएको छ ।
माओवादी नेताहरुले एमसीसी अगाडि बढाएमा विपक्षमा मतदान गर्ने समेत जनाइसकेका छन् । उनीहरुले सडक आन्दोलनमा जान कार्यकर्तालाई हौस्याउन थालिसकेका छन् ।
माओवादी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका पूर्वमाओवादी नेताहरुले खोलेको दलसँग मिलेर एमसीसीविरुद्ध जाने चर्चा पनि चलेको छ ।