Logo

देउवाले कुनैपनि बेला कठोर निर्णय लिने



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार उनले एमसीसी पारित गर्न आवश्यक विकल्पमा जाने गरी तयारी गरेका छन् ।

नेपाली काँग्रेसले ३ फागुनमा संसदीय दलको बैठकबाट एमसीसी टेबल गर्ने निर्णय गरिसक्दा माओवादीले अचानक दबाब दिएर रोक्न लगाएपछि देउवा रुष्ट भएका छन् । उनले प्रचण्डको आग्रहमा एमसीसी आजै टेबल नगर्ने सहमति गरेका छन् । तर, ५ फागुनको ३ बजे गठबन्धनको बैठक डाकी निर्णय लिने भएका छन् ।

देउवाले गठबन्धनका दलको औपचारिक धारणा प्रष्ट सुन्ने र त्यसपछि निर्णयको तयारी गरेका हुन् । माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा उभिएर टेबल गर्न रोक्न लागेपछि देउवा सतर्क भएका छन् । अब उनले विकल्पहरुमा जानेबारे छलफल चलाइसकेको बुझिएको छ ।

भोलि अन्तिमपटक एमसीसीमा सहमतिको प्रयास गर्ने र गठबन्धनका दलहरु तयार नभए विकल्पमा जाने गरी निर्णय लिने तयारीमा देउवा रहेको बुझिएको छ । देउवा अब लचिलो नहुने निर्णयमा पुगिसकेको बुझिएको छ । उनले कुनैपनि बेला कठोर निर्णयहरु लिने तयारी गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीबारे भद्र सहमति गर्ने सम्भावना बढेको छ । त्यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा तारोमा पर्न सक्छन् । महाभियोगको तारोमा अन्य न्यायाधीश पर्ने या प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतमा फर्कनसक्ने वातावरण विकास हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्