Logo

प्रचण्डको ‘रणनीतिक दाउपेच’मा देउवा फसेको भन्दै काँग्रेस सांसदहरु आक्रोशित



काठमाडौं, ४ फागुन । एमसीसीविरुद्ध सडक प्रदर्शनले उग्र रुप लियो । उता सडकमा आफ्ना जनवर्गीय संगठनलाई उतारेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीप्रति जनआक्रोश बढेको भन्दै पास गर्न सहयोग गर्न नसक्ने स्पष्ट जवाफ दिए ।

आज बालुवाटार पुग्नु अघि प्रचण्डले पार्टीबाट निर्णय नै गराएर एमसीसी अगाडि बढाउन खोजे गठबन्धन छाड्ने चेतावनी दिए । उनले सडकको आक्रोशबारे समेत उल्लेख गरेको बुझिएको छ ।

सत्तामा रहेर सडकमा कार्यकर्ता परिचालन गरेपछि काँग्रेस सांसदहरु प्रचण्डसँग भन्दा देउवासँग आक्रोशित भएका छन् । काँग्रेसका एक सांसदले रिपोर्टर्स नेपालसँगको कुराकानीमा देउवा प्रचण्डको रणनीतिक दाउपेचमा फसेको टिप्पणी गरे । उनले भने, हाम्रा सभापति प्रचण्ड एमसीसीको पक्षमा जान्दा जान्दै रणनीतिक दाउपेचमा फस्न पुग्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउन लागेको थाहै नदिई खाली कागजमा हस्ताक्षर गराएको भन्दै केही सांसदहरु देउवासँग असन्तुष्ट छन् । देवेन्द्रराज कँडेलले त खुलेरै सभामुख हटाउने प्रस्तावका लागि भन्दै झुक्याएर हस्ताक्षर गराइएको बताइसकेका छन् ।

काँग्रेसका अर्का सांसद देउवाले प्रचण्डलाई अति विश्वास गर्दा समस्यामा पर्न थालेको बताए । महाभियोग भूल थियो भन्दै तत्काल कडा कदम चालेर जानुपर्नेमा जोड दिए । प्रचण्डसँगको गठबन्धन तोडेर भएपनि एमसीसीमा आक्रामक रुपमा बढ्नुपर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्