काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनको लागि आफूले पहल गरिरहेको बताएका छन् । उनले एमसीसी भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुनेपनि बताए । र, पास वा फेल भएपनि त्यसलाई स्विकारेर जाने पनि उनले विश्वास दिलाएका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने,‘एमसीसी संसदमा टेबुल हुन्छ, यो पास वा फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु।’
आजै प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठक राखेका छन् । एमसीसीबारे निर्णायक छलफल हुने बुझिएको छ । बैठक ५ बजे बस्ने तय भएको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले एमसीसीको पक्षमा नउभिने निर्णय गरिसकेको छ। अहिलेको अवस्थामा एमसीसी सदनमा टेबुल भए सरकारबाट बाहिरिनेसमेत उसको निर्णय छ । माओवादी केन्द्रको उक्त निर्णयले वर्तमान सरकार नै धरापमा परेको चर्चा छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन पनि बचाउने र एमसीसी पनि पास गराउने रणनीतिमा छन् ।
https://www.facebook.com/niranjan.thapa.71/videos/630350078255260