Logo

ऊर्जामन्त्री भुसाल र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता



काठमाडौँ, ५ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बिहीबार) मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको सम्बन्ध र कोरोना महामारीबीच नेपाल–बेलायत सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।

महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भनिन्, “हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।” जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताईन् ।

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरीन् । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताईन् । तस्वीर : नवीन पौडेल-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot