Logo

गठबन्धनको बैठकमा सहमति नभए माओवादी आजै सरकारबाट बाहिरिने



काठमाडौं, ५ फागुन । एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको छ । यही अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ५ बजे बस्नेगरि गठबन्धनको निर्णायक बैठक बोलाएका छन् । तर, बैठक बस्नुअघि गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सकारात्मक हुन सकेन् । दाहालले एमसीसीमा आफ्नो पूरानै अडान दोहोर्याएका थिए । यता, प्रधानमन्त्री देउवाले पनि एमसीसी भोलिको संसद् बैठकमा जसरी पनि टेबुल गर्ने आफ्नो सुनाएका छन् । प्रधानमन्त्री देउवासँगको भेटवार्ताबाट दाहाल निराश बनेर निस्किएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । आज बालुवाटारमा पार्टी नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा देउवाले यस्तो सन्देश दिएका हुन् । गठबन्धनभित्र खटपट भएका बेला प्रधानमन्त्रीको यो अभिव्यक्तिले एमसीसीले गठबन्धनको विषय निकै पेचिलो बनेको र यो जुनसुकै बेला टुट्न सक्ने अवस्था देखिएको छ ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा एमसीसीको विषयलाई लिएर कांग्रेस एक्लिँदै गएको देउवाले महसुस गरेका छन् । एमसीसी सदनमा टेबुल गर्ने कांग्रेसले एकल निर्णय पनि गरिसकेको छ ।

माओवादीले आजको बैठकमा कुरा नमिले सरकारबाट बाहिरने तयारी गरेको छ । ‘आजको बैठकमा सहमति नभए सरकारबाट बाहिरिन्छौं,’ माओवादीका प्रमुख सचेतक देव गुरुङले न्युज कारखानासँग भने, ‘माओवादी यथास्थितिमा एमसीसी अगाडि बढाउने पक्षमा छैन ।

कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी निर्वाचनसम्मै गठबन्धनसँगको सहयात्रा होस् भन्ने चाहना छ । दलहरूले राष्ट्रिय मुद्दामा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर निर्णय लिनुपर्छ । एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन भन्ने हो । यदि टुट्यो भने अर्को छलफलको विषय हो ।’

कांग्रेसकै अर्का नेता रमेश रिजाल पनि चुनावसम्म गठबन्धन कायम गर्ने पक्षमा रहेको बताउँछन् । ‘चाहे सरकारमा रहेर होस् वा सरकारबाहिर रहेर होस्, तर कांग्रेस वर्तमान गठबन्धन चुनावसम्मै लम्बियोस् भन्ने चाहन्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्