Logo

वैशाखभित्र नयाँ शैक्षिक सत्र, जेठ १ गतेबाट कक्षा सञ्चालन: शिक्षामन्त्री पौडेल



काठमाडौँ, ६ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन् । शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका-१७ ठहिटीको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब एक हजार ९०० विद्यालय बनेका छन्’, मन्त्री पौडेलले भने, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।’, मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए । पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने पनि उनले बताए ।

शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताए । उनले सङ्घीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको दोहोर्याएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत चार करोड १७ लाखमा २२ कोठे भवन बनेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्