Logo

अबको १० दिन देउवा, ओली र प्रचण्डका लागि चुनौतीपूर्ण



काठमाडौं, ६ फागुन । एमसीसीबारे सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुगेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने अडानमा छन् । तर, टेबल गर्ने अवस्था निर्माण गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनको बैठक दिनहुँ जसो बसेपनि निष्कर्ष निस्किएको छैन । देउवालाई ८ फागुनसम्म कुर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भनेका छन् । त्यसमा लचिलो भएपनि देउवा विकल्पतर्फ ध्यान दिइरहेका छन् ।

५ फागुनको साँझ पत्नी आरजु देउवासहित प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेर केपी शर्मा ओलीलाई भेट्न पुगे । भेटमा राजनीतिक लेनदेनका कुरा पनि भए । तर, देउवाले गठबन्धन तोडिहाल्ने निर्णय लिएनन् ।

६ फागुनको विहान सत्ता गठबन्धनको बैठक बस्यो । एमसीसी टेबल गरिएन र ८ फागुनसम्मका लागि संसद बैठक स्थगित भयो ।

१६ फागुनसम्म एमसीसी टुंगोमा पुर्याउनुपर्ने दबाबमा देउवा छन् । अब कि त एमसीसीले समयसीमा थपिदिनुपर्छ कि त टुंगोमा पुग्नुपर्छ । अमेरिकाले समयसीमा थप्न मानेको छैन । एमसीसी नेपालबाट जाने सम्भावना पनि छ ।

अब एमसीसी पारित गर्न देउवाले या त सत्ता गठबन्धनलाई मनाउनुपर्छ या त ओलीसँग मिलेर कठोर कदम चाल्नुपर्छ । अबको केही दिनमा उनीसामु योबाहेक विकल्प छैन ।

प्रचण्ड गठबन्धन तोडेर एमसीसीको विपक्षमा जानुपरेमा सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा पर्न सक्छ । उनीसँग ओलीसँग मिलेर जाने विकल्प पनि छ । तर, त्यो कठिन छ ।

ओलीले देउवासँग मिलेर जाने सम्भावनामा छलफल गरिरहेका छन् । तर, उनको आफ्नै सर्तहरु छन् जसलाई मान्न देउवालार्इ अप्ठ्यारो छ ।

ओलीले सभामुख सापकोटालाई हटाउन चाहेका छन् । त्यसपछि माधवकुमार नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस संसदबाट गराउन खोजेका छन् । तर, उनले देउवालाई छक्क पार्दै प्रचण्डसँग मिल्ने सम्भावना पनि छ ।

देउवा कुनै हालतमा एमसीसी पारित गर्ने अडानमा छन् । यसका लागि उनले प्रचण्ड मनाउने या ओलीसँग गठबन्धन गर्नेबाहेकको विकल्प छैन । तर, राजनीतिक धोकाधडीमा पर्न सक्ने भय देउवालाई छ । यसकारण नेताहरुका लागि अबको १० दिन चुनौतीपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot